Section 26
सुनुवाइको सिलसिलामा बालबालिकालाई प्राप्त अधिकार
(१) बालबालिकालाई कसूरजन्य कार्यको अनुसन्धान तथा मुद्दाको सुनुवाइको सिलसिलामा प्रचलित कानून तथा यस ऐनमा अन्यत्र उल्लिखित अधिकारका अतिरिक्त देहायको अधिकार प्राप्त हुनेछ ः-
(क) आफूविरूद्ध लागेको आरोप, सो उपरको कारबाही, त्यसमा भएको आदेश वा निर्णयको जानकारी सिधै वा परिवार वा संरक्षक मार्फत् प्राप्त गर्ने,
(ख) आफू विरूद्ध लागेको आरोपको प्रतिरक्षाको लागि तत्काल निशुल्क कानूनी सहायता र अन्य आवश्यक सहयोग प्राप्त गर्ने,
(ग) सक्षम न्यायिक निकायबाट मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने,
(घ)  बाल न्याय सम्पादनको सबै प्रक्रियामा आवश्यकतानुसार परिवार वा संरक्षकको उपस्थिति माग गर्ने,
(ङ) बाल अदालतबाट छिटो र स्वच्छ न्याय प्राप्त गर्ने,
(च) बाल न्याय सम्पादनको प्रक्रियामा गोपनीयता प्राप्त गर्ने,
(छ)  संवैधानिक वा कानूनी हकको बारेमा जानकारी प्राप्त गर्ने,
(ज) बालमैत्री वातावरणमा अनुसन्धान, अभियोजन तथा सुनुवाइ हुने,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “बालमैत्री वातावरण” भन्नाले बालबालिकाको उमेर, परिपक्वता र मनोविज्ञान सुहाउँदो व्यवहार सम्झनु पर्दछ। जस अन्तर्गत बालबालिकाले बुझ्ने भाषाको प्रयोग, त्रासरहित वातावरणको सिर्जना, आमा, बाबु वा परिवारको अन्य सदस्य वा संरक्षकको उपस्थिति, बालबालिकाको वैयक्तिक आवश्यकताको सम्बोधन र आवश्यकता अनुसार सहजकर्ताको उपलब्धता लगायतको अवस्था सम्झनु पर्छ।
(झ) न्यायिक प्रक्रियाका हरेक चरणमा सहभागी हुने र आफ्नो भनाई स्वतन्त्र रूपमा व्यक्त गर्ने अवसर प्राप्त गर्ने,
(ञ)  मुद्दाको सुनुवाइमा बालबालिकाले चाहेमा आफूसँगै निजका बाबु आमा, संरक्षकलाई सहभागी गराउने,
(ट)  पीडित बालबालिकाको बाबु, आमा, अभिभावक वा संरक्षक नै पीडक भएमा बालबालिकाले चाहेमा पीडकबाट अलग रहन पाउने।
(२) कसूरजन्य कार्यको अभियोग लागेका बालबालिकालाई बाल अदालतबाट अन्यथा निर्णय नहुँदासम्म निर्दोष रहेको मानिनेछ र त्यस्तो बालबालिकालाई आफ्नो विरुद्ध साक्षी हुन कर लगाइने छैन।